एमालेको मध्यधारका नेता ओली खेमामा विलय, १० बुँदे सहमति अनुमोदन

काठमाडौं । नेकपा एमालेमा मध्यधारमा रहेका नेताहरु अन्ततः ओली खेमामा विलय भएका छन् । १० बुँदे सहमति अनुमोदन गभएसँगै पार्टी २ जेठ २०७५ को संरचनामा फर्किएको एमालेले जनाएको छ । मंगलबार बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । आजको बैठकमा माधवकुमार नेपाल समूहमा रहेपनि नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्य समेत सहभागी भएका छन् । बैठकले विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पुनस्र्थापित एमालेको स्थायी कमिटीको बैठक मंगलबार बसेको हो । आजको बैठकमा उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त, अमृतकुमार बोहोरा (अनुशासन आयोगका प्रमुख) सहभागी भए ।

उनीहरु माधव नेपाल पक्षका नेता थिए । पार्टीको पक्षमा क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी लगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरुलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिइएको छ । बैठकले दल विभाजन प्रक्रिया रोकेर पार्टी एकतामा आउन नेता कार्यकर्तालाई आह्वान गरेको छ ।

आजको बैठकले १० बुँदे कार्यान्वयन गर्न कार्यदल बनाएको छ । सात सदस्यीय कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् । स्थायी कमिटीको बैठकले पार्टीको विधान महाधिवेशन ४–६ असोज र दशौं महाधिवेशन १०–१२ मंसिरमा गर्ने निर्णय गरेको छ ।