अफगानी नागरिकलाई काबुल विमानस्थल जान रोक लगाउने तालिबानको घोषणा

AFP\BBC

काबुल । तालिबानले अफगानी नागरिकलाई अब काबुल विमानस्थल जान रोक लगाउने भएको छ । अमेरिकाको उक्साहटमा ठूलो संख्यामा अफगानी नागरिकले देश छाडेको भन्दै तालिबानले उनीहरुको सुरक्षाको ग्यारेन्टी समेत गरिने बताएको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताएको बीबीसीले लेखेको छ ।

मङ्गलवार एक पत्रकार सम्मेलनमा उनले विमानस्थलमा रहेका अफगानी नागरिक घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने बताएका हुन् । उनले अमेरिकाले मानिसहरूलाई विमानस्थलमा बोलाउँदै विमान चढाइरहेको समेत आरोप लगाएका छन् ।

अमेरिकी साझेदारहरूले अफगानिस्तानबाट अमेरिकी सेना फर्किने समयसीमा अगस्ट ३१ अगावै तालिबानको पुनरागमन हुँदा त्रसित भएर भागेका सबै अफगान नागरिकको उद्धार गर्न नसकिने बताइसकेको छ । काबुलको विमानस्थ्ल अमेरिकी सेनाको नियन्त्रणमा छ । काबुल विमानस्थलबाट अहिलेसम्म ५८ हजार हाराहारी मानिस विदेश उडेको बताइएको छ ।