काठमाडौं । नेपालमा पर्यटक स्तर र तारे स्तरका होटलमा समेत अपांगमैत्री संरचना नहुँदा त्यस प्रकारका पाहुनालाई आकर्षित गर्न सकिएको छैन । पहुँचयोग्य पर्यटकका कारण मुलुकको अर्थतन्त्रमै सकारात्मक प्रभव पर्न सक्ने भएपनि त्यसअनुसारको संरचना बनाउन नसकिएको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को अध्ययन अनुसार नेपालका तारे स्तरका ९० होटल र त्यसमा संलग्न व्यवसायीले यसबारे आफुलाई थाहा भए पनि कार्यान्वयनमा नरहेको बताएका छन् ।
प्रतिवेदन अनुसार ९५ प्रतिशत होटल व्यवसायीले पहुँचयोग्य पर्यटनको अवधारणाबारे आफूहरु जानकारी रहेपनि त्यस प्रकारका पूर्वाधार नभएको बताएका हुन् । पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न आवश्यक पर्ने लगानी नै त्यस्ता सुविधा बन्न नसक्ने कारण समेत अध्ययनले निष्कर्ष निकालेको छ । आईएफसी र राष्ट्रिय अपाङ्ग महासंघको आर्थिक तथा प्राविधिक सहयोगमा आर्थिक पत्रकार समाज सेजनले प्रतिवेदन तयार पारेको थियो ।
प्रतिवेदन बुधबार सार्वजनिक गरियो । अध्ययनअनुसार नेपालका अधिकांश होटलका संरचना पुराना भइसकेका छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय अध्ययनले समावेशी पर्यटनका पूर्वाधार तयार पार्दा लगानीको शून्य दशमलव २ प्रतिशत मात्र खर्च थपिने बताए पनि होटलले यस्तो संरचना थप्न सकेका छैनन् । अधिकांश होटलमा अपाङ्गता भएका व्यक्तिको आवतजावतका लागि चाहिने भिराला र्याम्प, ह्विलचियर तथा अन्य पूर्वाधारमा पर्याप्त लगानी गर्न सकेका छैनन् ।
अध्ययन अनुसार सुलभ पर्यटनको अवधारणाबारे सरकारी निकाय समेत अनभिज्ञ छन् । अध्ययनले समावेश पहुचयोग्य सुलभ पर्यटन प्रवद्र्धन गर्न सरकार, निजी क्षेत्र र दातृ निकायबीच सहकार्य अनिवार्य भएको निष्कर्ष समेत निकालेको छ । सुलभ पर्यटनको अवधारणामा अपाङ्गता भएका व्यक्तिसँगै गर्भवती अवस्थाका महिला, बिरामी, बालबालिका र काखे नाबालक भएका परिवारका सदस्यको आवश्यकतामा समेत उपयोगी हुन्छ ।
आईएफसीको अध्ययनले अहिले सञ्चालनमा रहेका अधिकांश होटलमा अपाङ्गता भएका व्यक्तिको आवतजावतका लागि लिफ्ट र भिराला र्याम्प मात्रै रहेको, अध्ययनमा समावेश भएका १७ प्रतिशत होटलले दृष्टिविहीन पाहुनाको सहयोगका लागि संकेत चिन्ह राखेको देखाएको छ । बाँकी ७४ प्रतिशत होटलले ढोका बाहिर वा कोठाको निर्देशिका पुस्तकमा ब्रेल लिपी वा संकेत चिन्हको प्रयोग गरेका छैनन् । अध्ययनले ९ प्रतिशत होटलका कर्मचारी पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका पाहुनावारे प्रशिक्षित रहेका र ३३ प्रतिशत होटलमा अपाङ्ग अतिथिका लागि अतिरिक्त ह्विलचेयरको व्यवस्था रहेको देखाएको छ ।