काबुल विष्फोटमा मारिनेको संख्या ६० नाघ्यो, १३ अमेरिकी सुरक्षाकर्मी मारिए

Photo Source : inews.co.uk

काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित कम्तिमा ६० भन्दाको मृत्यु भएको पुष्टी भएको छ । यो विमानस्थल अमेरिकाले कब्जामा लिएर हवाई उद्धार गरिरहेको थियो । बीबीसीकाअनुसार आक्रमणका वावजुत विभिन्न मुलुकका नागरिकको उद्धारको काम भने जारी रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्। यो मिसन सम्पन्न गर्नै पर्ने भन्दै उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा समेत गरेका छन् ।

अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म १००,००० भन्दा बढीलाई अन्यत्रै सारेको छ । अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन्। बिहीवार आक्रमण हुँदा अफगानिस्तानमा साँझको झन्डै ६ बजेको थियो। सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो । त्यहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रिया पूरा गरिरहेका थिए ।

त्यसको केही समय पछि गोली चलेको थियो । केही मिनेटको अन्तरालमा ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन भएको थियो । अमेरिका र यूकेले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसआइएस ले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएका थिए । उद्धारका लागि आएका विमानमा स्थान पाउने आशामा विमानस्थल आसपासको क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो। उक्त जिहादी समूहले हमलाको जिम्मेवारी लिएको छ। विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्ड समेत घाइते भएका छन् ।