काठमाडौं । नेपाल क्रिकेट टोलीका प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा घोषणा गरेका छन् । आईसीसी विश्वकप लिग २ सिरिज खेल्ने ओमान पुगेकै समयमा उनका एजेन्टमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई उक्त व्यहोराको इमले प्राप्त भएको हो । उनले व्यक्तिगत कारण देखाउँदै अकस्मात घोषणा गरेको राजीनामालाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । उनी नेपालमा आएका अहिलेसम्मकै ‘हेभिवेट’ प्रशिक्षक हुन् । उनले विश्वकपमा समेत टोलीहरु सम्हालिसकेका छन् ।
व्यक्तिगत कारण, घरायसी अवस्था, परिवारिक कारण र कोभिड १९ का कारण आफुले निरन्तर नेपाली टीम सम्हाल्न नसक्ने ब्यहोराको पत्र क्यानमा प्राप्त भएको स्रोतको दावि छ । नेपाली संचारमाध्यमले समेत उनको राजीनामा घोषणाको पुष्टी गरेका हुन् । ६७ वर्षे ह्वाटमोर जनवरीमा मात्र नेपालको प्रशिक्षकमा नियुक्त भएका हुन् । उनको अवधि डिसेम्बरसम्म रहेको छ । अहिले नेपाली टोली सेप्टेम्बर २० सम्मका लागि ओमान भ्रमणमा रहेको छ । यसबीचमा नेपालले पपुवा न्यु गिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने छ । त्यसपछि ओमान र अमेरिकासँग लिग २ का खेलहरुमा भाग दिने छ ।