लण्डन । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । करियरको शुरुवाती दिनमा सानदार प्रदर्शन गरेका रोनाल्डोलाई स्थापित गराउन यो क्लवको ठूलो भूमिका छ । युनाइटेडले रोनाल्डोसँग सम्झौता भएको पुष्टि गरेको हो । व्यक्तिगत शर्त, भिसा र मेडिकल सम्पन्न भएपछि रोनाल्डो औपचारिक रुपमा क्लवमा समावेश हुने छन् । रोनाल्डो युनाइटेडमा १२ वर्षपछि फर्किए । उनी अहिले भने इटालियन क्लब युभेन्ट्समा थिए । उनी तीन वर्षअघि युभेन्ट्समा आएका हुन् ।
उनको करियरको गोल्डेन समय भने स्पेनिस फुटबल क्लब रियल म्याड्रिडमा रह्यो । त्यहाँ उनले लियोनल मेसीसँग विपक्षी बनेर खेले, जसका कारण हरेक सिजनजसो लालिगा चर्चाको शिखरमा रहन सफल भयो । युभेन्ट्समा सन् २०१८ देखि ९८ खेल खेल्दा ८१ गोल गरे । तीन सिजन खेल्दा क्लव दुई पटक इटालियन च्याम्पियन बन्यो । रियल म्याड्रिडमा रोनाल्डोले ९ सिजन बिताए । त्यहाँ उनले चार च्याम्पियन्स लिगको उपाधि जिते । रियलबाट ४ सय ३८ खेलमा ४ सय ५० गोल गरे । रियलमा उनी सन् २००९ मा आबद्ध भएका हुन् । त्यसअघि उनले सन् २००३ देखि म्यान्चेस्टर युनाइटेडबाट ेले । जहाँ उनले १९६ खेलमा ८४ गोल गरे ।