बाइडेन भन्छन्: काबुलमा अर्को हमला हुन सक्छ

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलमा अर्को आतंकवादी आक्रमणको चेतावनी दिएका छन् । उनले काबुल एयरपोर्टमा पुनः हमलाको सूचना आएको जानकारी गराएका छन् । बाइडेनका अनुसार अमेरिकी कमान्डरले यसबारे जानकारी गराएका छन् । अमेरिकी विदेश मन्त्रालयले समेत अमेरिकी नागरिकसँग विमानस्थलको नजिक नजान भनेको छ । अमेरिकाले अहिले पनि अफगानिस्तानबाट नागरिकहरुको उद्धार गरिरहेको छ । उता, बेलायतले समेत सैनिक र आफ्ना अधिकारीहरुको उद्धार गरिरहेका छन् ।

बिहीबार काबुल एयरपोर्टको गेटमा भएको आत्मघाती हमलामा १७० भन्दा बढीको ज्यान गइसकेको छ । यो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट केले लिएको छ । काबुल विमानस्थलमा भएको हमलापछि अमेरिकाले पश्चिमी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो । जसमा काबुल हमलाका योजनाकार मारिएको अमेरिकाले बताएको छ । राष्ट्रपति बाइडेनले आक्रमणकारीलाई कुनै पनि मूल्याम नछाड्ने चेतावनी दिएका थिए । आईएस के अफगानिस्तानको सबैभन्दा हिंस्रक चरमपन्थी संगठन मानिन्छ ।