काठमाडौं । एमालेबाट छुट्टिएर नयाँ पार्टी दर्ता गरेका १४ सांसदको पद नजाने भएको छ । सभामुख अग्नि सापकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्ने निर्णय लिएका हुन् । निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना संसद सचिवालयमा पठाएको छ । सोहीकारण सांसदहरु कारबाहीमा नपर्ने भएको उनको सचिवालयले जनाएको छ ।
निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ता गरेको छ । यस बेहोराको पत्र भदौ ११ मा संसद सचिवालयलाई पठाएको थियो । कानून अनुसार अर्को दल दर्ता भइसकेको अवस्थामा सांसद पद कायम रहने गरि सभामुखले निर्णय गरेका हुन् । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि अनुपस्थित भएका १४ सांसदलाई ह्विप उल्लघंन गरेको भन्दै कारबाही सिफारिस गरेको थियो।
एमाले सांसदहरुले तत्काल सूचना टाँस गर्न सभामुखको कार्यकक्षमा पुगेर धर्ना पनि दिएका थिए। त्यसबेला निर्वाचन आयोगमा दर्ता प्रक्रिया चलिरहेको थियो । प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले कारवाहीको सूचना दलबाट प्राप्त भएको १५ दिनभित्र टाँस गरिसक्नु पर्छ ।