नेपाल र भारतबीच दुई मैत्रीपूर्ण फुटबल हुने, भारतीय टोली काठमाडौं ओर्लियो

काठमाडौं । नेपाल र भारतबीच दुई वटा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । दशरथ रंगशालामा हुने खेलमा भाग लिन भारतीय टोली नेपाल आएको छ । २५ सदस्यीय भारतीय टोली काठमाडौं ओर्लिएको हो । नेपाल र भारतबीच भदौ १७ र २० (बिहीबार र शनिबार) गते मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । यी दुई मुलुक साफ च्याम्पियनशिपको तयारीमा छन् । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा साफ च्याम्पियनशिप आयोजना हुँदैछ । त्यसको तयारीस्वरुप नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुन लागेको हो । नेपालसँगको खेलको लागि भारतले सुनिल क्षेत्रीसहितको २५ सदस्यीय टोली उतारेको छ । नेपालको टोली भने अहिले बन्द प्रशिक्षणको सिलसिलामा पोखरामा रहेको छ ।