काठमाडौं । दार्चुलामा जानाजान तुइन काट्दा जयसिंह धामी महाकाली नदीमा खसेको घटनामा भारतीय सुरक्षाबल एसएसबीकै उपस्थितिमा भएको पुष्टी भएको छ । यस सम्बन्धमा गठन भएको छानबिन समितिले दार्चुलामा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटनामा भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेको निष्कर्ष निकालेको हो ।
तुइन काट्ने काममा एसएसबीको संलग्नता रहे नरहेको सम्बन्धमा भने थप अनुसन्धान गर्न समितिले सुझाव दिएको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले ब्याँस गाउँपालिका २ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको निष्कर्ष निकालेको हो । छानवि नसमितिले एसएसबीको संलग्नतामा पुन अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सिफारिस गरेको छ ।
एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारवाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस समितिले गरेको छ ।
साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीका अनुसार भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण उनी नदीमा खसेका हुन् ।
