सुरेश चाम्लिङ्ग
न्युहेम्प्शायर
नेपालमा गैर नाफामुलक संस्थाको रूपमा निर्माण भईरहेको “काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ” (KIOCH) लाई युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) न्यु इंग्ल्याण्ड च्याप्टरले आर्थिक सहयोग गरेको छ।
मुटु रोग बिशेषज्ञ डा. भगवान कोईरालाको अध्यक्षतामा नेपालका बालवालिकाहरुलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने पवित्र उदेश्यका साथ यो अस्पताल निर्माण भै रहेको छ।

हालै न्यु हेम्प्शायर नेपाली कम्युनिटीद्वारा आयोजना गरिएको भर्च्युएल कार्यक्रममा डा. कोईरालाले हाल नेपालमा एक मात्र सरकारी बाल अस्पताल भएको र त्यो नेपाल भरीको बाल बालीकाको उपचारको लागी पर्याप्त नभएको हुदा हाल काठमाडौँ र झापाको दमकमा बाल अस्पताल निर्माण भइ रहेको र यसलाई ७ वटै प्रदेशमा बिस्तार गरीने बताउनु भयो। उहाँले बिभिन्न आंकडा प्रस्तुत गर्नु हुदै अहिले बाल मृत्यु दरको संख्या ठुलो रहेको र यो अस्पतालपछि यो संख्या घट्ने कुरा बताउनु भयो। उहाँको यो भर्च्युएल मन्तब्यबाट प्रभावित भई अर्गनाइजेसनले सहयोग संकलन गरेको कुरा अर्गनाइजेसनका महासचिव शेखर राईले बताउनु भयो। शेखर राईका अनुसार बिभिन्न १४ जना व्यक्ति हरुबाट अमेरिकी डलर $६९०७ (नेपाली रू ८ लाख १७ हजार) संकलन गरिएको र यो रकम सिधै काठमाण्डौमा प्राप्त हुनेगरी हस्तान्तरण गरिएको थियो।

अर्गनाइजेसनका च्याप्टर अध्यक्ष मुक्ति नारायण राई र एन आर एन अमेरिकाका भू.पू. अध्यक्ष शिव कु. राईबाट संयुक्त रुपमा न्यु हेम्प्शायार नेपाली कम्युनिटीका पुर्व अध्यक्ष तथा उक्त बाल अस्पताल सम्बन्धि सरोकार राख्नु हुने समाजसेवी मीन गौतमलाई डमी चेक हस्तान्तरण गरिएको थियो। सोही समारोहमा हालसालै साँस्कृतिक परम्परा अनुसार प्रणय बन्धनमा बॉधिनु भएका अतिथी लुमन के.सी र रेखा गुरुङलाई सुखी र सफल दाम्पत्य जीवनको निम्ति अर्गनाइजेसनले बधाई तथा शुभकामना दिएको थियो।
स्मरण रहोस, यस च्याप्टरका पूर्व कोषाध्यक्ष धनकुटा जिल्ला चुङ्गमांग घर भइ हाल ब्यारिंगटन न्युहेम्पशायर बस्नु हुने राजन कुथुमी राईले आफ्नो स्वर्गीय धर्मपत्नी अरूणा कुथुमी राईको स्मृतिमा रु. २५ लाख यसअघि नै यस बाल अस्पताललाई सहयोग गरि सक्नु भएको छ।