काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले पार्टी परित्याग गरेका छन् । शुक्रबार उनले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् । पटक पटक बोली फेरिरहने उनले यस पटक भने लिखित रुपमै राजिनामा बुझाएका छन् । उनले एमाले फुट्न नदिन पहल गरेको बताउने गरेका थिए । बामदेवले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेका छन् । जहाँ उनले ओली व्यक्तिवादी र स्वेच्छाचारी बनेको गम्भीर आरोप लगाएका छन् । यो बानी सुधार गर्न आफुले पटक पटक प्रयास गरेको समेत उनको भनाई छ ।
राजीनामा पत्रमा प्रतिनिधिसभा भङ्गदेखि पार्टी सञ्चालनमा अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरेका छन् । उनले राजीनामा दिनुको कारणबारे एमालेमा ओलीकै गलत विचार प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएको उल्लेख गरेका छन् । उनले अब आफ्नो यात्रा के हुने भन्ने बारे चाँही खुलाएका छैनन् । धेरैले उनी नेकपा (एकीकृत समाजवादी) मा जाने बारे समेत चर्चा थालेका छन् ।