गैरआवासीय नेपाली संघको निर्वाचनबारे परराष्ट्र मन्त्रालयको प्रश्न

काठमाडौं । आसन्न गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन प्रक्रियाप्रति परराष्ट्र मन्त्रालयले प्रश्न उठाएको छ । प्रश्न उठाउँदै मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पत्र समेत काटेको छ । चुनावी प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, राष्ट्रिय समन्वय परिषद्को अधिवेशन तोकिएको समय भन्दा ढिला गरेको, अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको विवरण १५ अगस्टसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालयमा पेश गर्नुपर्नेमा सो मिति भन्दा पछि त्यस्तो कार्य भएको सहितका विषयमा प्रश्न उठाउँदै मन्त्रालयले एनआरएनएलाई पत्र काटेको हो ।

परराष्ट्र मन्त्रालयले पठाएको पत्रमा निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठ्ने गरी गुनासा आएको उल्लेख छ । यी सन्दर्भमा उठेका विषयमा सत्यतथ्य जानकारी गराउन ५ दिनको समय सीमा समेत दिइएको छ । गैरआवासीय नेपाली संघ जापानको चुनावबारे समेत सरकारले प्रश्न उठाएको छ । यो चूनावको वैधतामाथि प्रश्न उठेको हो । संघको निर्वाचन आगामी कात्तिकमा नेपालमा हुँदैछ ।