काठमाडौं । नेपालको अर्थतन्त्रमा पर्यटनको ठूलो योगदान छ । तर, कोरोना महामारीका कारण सन् २०२१ मा समेत पर्यटक आगमन प्रभावित हुने भएको छ । सन् २०२१ को आठ महिनामा ६७ हजार मात्र पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अगष्टसम्म ६६ हजार ९ सय ६६ विदेशी पर्यटक नेपाल आएका छन् ।
अगष्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएको तथ्यांकले देखाएको छ । एक महिनामा नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिए । अघिल्लो वर्ष सन् २०२० को सोही महिनामा जम्मा २६५ मात्र पर्यटक आएका थिए। कोभिड–१९ अघि सन् २०१९ को अगष्टमा ९४ हजार ७४९ पयटक नेपाल आएको तथ्याङ्क छ।
कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ। विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ। जनवरी महिनामा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३ र जुलाईमा दुई हजार ९९१ विदेशी पर्यटक नेपाल आएको आंकडा छ ।