काठमाडौं । सेयर बजारमा इतिहासकै ठूलो पहिरो गएको छ । नेप्से सूचक आज एकै दिन तीन अंकले घटेको हो ।
बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार १४५ अंक (५ प्रतिशत)ले घटेपछि ४० मिनेटका लागि कारोबार बन्दभएको थियो । त्यसपछि खुलेको बजार झन्डै १०० अंकले फर्केर ५१ अंकसम्म आएपनि अन्त्यमा १०८ अंकले घटेर बन्द भएको हो ।
एकैदिन यति १०० बढी अंकले घटेको यो नेपाली सेयर बजार इतिहासकै दोस्रो घटना हो । यसअघि २०७७ असार २३ गते सबैभन्दा धेरै १२३ अंकले घटेको थियो ।
सूचकमा उच्च गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज सवा ११ अर्ब बढीको कारोबार भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १०८.२६ अंकले घटेर २८१८.७३ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको ११ अर्ब २४ करोड ३ लाख रुपैयाँ बढीको २ करोड ३० लाख ७९ हजार कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ८.०१ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक ७.२१, हाइड्रोपावर र लगानी समूह पनि ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबारमा आएका २२३ कम्पनीमध्ये जम्मा १४ कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको मूल्यमा गिरावट आएको छ । ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ७० करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रलरी कम्पनीको ३० करोड र नेपाल बैंक २५ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।
तेहेरो अंकले घटेको बजारमा आज २ दर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किछ लागेको छ । सर्किट लाग्नेमा अधिकांश फाइनान्स र हाइड्रोपावर कम्पनी रहेका छन् ।
नारायणी विकास बैंक, बेस्ट, जानकी, नेपाल, गुडविल, समृद्धि, आइसीएफसी, रिलायन्स फाइनानस, अरुण काबेली, युनिभर्सल पावर, रुरु, हिमालयन ऊर्जा र सीईडीबी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।
यसैगरी, पाँचथर पावर, घलेम्दी, माउन्टेन, दिव्यश्वरी, ग्रीनलाइफ, पञ्चकन्या माइ हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा, अपी पावर र सिन्धु विकास बैंकका सेयरधनीले पनि करिब १० प्रतिशत गुमाएका छन् ।
घट्दो बजारमा आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा भने पाजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।