नेपाली सेयर बजारमा कीर्तिमानी उछाल, नेप्से एकैदिन १६२ अंकको बढ्यो

काठमाडौं । सेयर बजारमा कीर्तिमानी उछाल आएको छ । हिजो एकै दिन १०८ अंकले घटेको बजारमा आज १६२ अंकले वृद्धि भएको हो ।

नेप्सेमा एकैदिन डेढ सय बढी अंकले वृद्धि भएको सेयर बजार इतिहासमै पहिलो पटक हो । यसअघि नेप्से एकैदिन ९५ अंकले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फ सेयर कर्जामा कडाइ गरेपछि पछिल्लो तीन सातामा करिब ४०० अंकले घटेको नेप्से आज एकैदिन १६२ अंकले कमब्याक गरेको हो ।

नेप्से निरन्तर ओरालो लागेपछि आज अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई पूँजी बजारको समस्या समाधन गर्न आग्रह गरेका थिए । गभर्नर अधिकारीले पनि आवश्यक प्रक्रिया मिलाइने प्रतिबद्धता जनाएपछि लगानीकर्ता उत्साहित हुँदा बजारले कीर्तिमानी बढाइ गरेको हो ।

आज सेयर बजार मापक सूचक नेप्से १६१.९२ अंकले बढेर २९८०.७९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२४ कम्पनीको ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँ बराबरको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ९.९२ प्रतिशतले बढेको छ । यस्तै, फाइनान्स र हाइड्रोपावर समूह पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज कारोबारमा आएका २२४ कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ४६ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रलरीको झन्डै २७ करोड र माथिल्लो तामाकोशी २५ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

तेहेरो अंकले बढेको बजारमा आज करिब ६ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश विकास बैंक, फाइनान्स र हाइड्रोपावर कम्पनी रहेका छन् ।

नेशनल हाइड्रो, गोर्खा फाइनान्स, श्रीइन्भेष्मेन्ट, गुह्येश्वरी, मर्चेन्ट, सेन्टर, समृद्धि, रिलायन्स फाइनान्स, एक्सल, लुम्बिनी, मितेरी, गरिमा, ज्योति, कर्णाली, महालक्ष्मी, कामनासेवा, सांग्रिला, साइन रेसुंगा, सप्तकोशी, ग्रीन डेभलपमेन्ट, मुक्तिनाथ र सिन्धु विकास बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसैगरी, नेपाल टेलिकम, सानीमा माइ, अपी, वरुण, एचआइडीसील, ङादी, दिव्यश्वरी, सिनर्जी पावर, माउन्टेन, सिनर्जी पावर, युनाइटेड मोदी, छ्याङ्दी, हिमालयन पावर, नेपाल हाइड्रो, पञ्चकन्यामाइ, कालिका पावर, आँखुखोला, जोशी, माथिल्लो तामाकोशी, घलेम्दी, पाँचथर पावर, रसुवागढी, हिमाल दोलखा, लिबर्टी र युनाइटेड इदिमार्दी हाइड्रोपावरका सेयरधनीले पनि ठ्याक्कै १० प्रतिशतले कमाएका छन् ।

यस्तै, रिडी हाइड्रो अरुण भ्याली, जानकी, बेस्ट, गुडविल फाइनान्ससहित ३५ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

उछाल आएको बजारमा आज नेपाल इन्भेष्टमेन्ट बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै १.९४ प्रतिशत गुमाएका छन् ।