काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयाले तत्कालीन राजा महेन्द्र शाहलाई उपहार दिएको सुनौली बग्गी अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । यो बग्गी तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा प्रयोग गर्न ल्याइएको थियो । नारायणहिटी दरबार सङ्ग्रहालयमा सोमबार बग्गीको औपचारिक सार्वजनिकीकरण गरियो । अब संग्रहालय घुम्न जानेहरुले यो बग्गी हेर्न सक्ने छन् । यसअघि हिटलरले राजा त्रिभुवनलाई उपहार दिएको कार समेत प्रदर्शनीमा राखिएको छ ।
महारानी पहिलो पटक २०१६ सालमा नेपाल भ्रमणमा आउँदा बग्गी समेत साथमा ल्याएको इतिहास छ । २०३१ साल फागुन १२ गते राजा वीरेन्द्रको राज्याभिषेकका बेला पहिलो पटक बग्गी प्रयोग गरिएको थियो । २०४२ सालमा बेलायतकी महारानी पुनः नेपाल भ्रमणमा आउँदा यसै बग्गीमा राखेर उनको अभिनन्दन गरिएको थियो । उनलाइर्ए वसन्तपुरदेखि नारायणहिटी दरबारसम्म सोही बग्गीमा राखेर ल्याइएको थियो । यस्तो बग्गी संसारमा दुई वटा मात्र रहेको र एउटा बेलायतको बकिङ्घम दरबारमा मात्र रहेको समेत बताइएको छ । जहाँ महारानी अहिले पनि बस्ने गर्छिन् ।