आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन

काठमाडौं । हिन्दु धर्मावलम्बीहरु बुबालाई भगवानको रुपमा सम्मान गर्छन् । बुबालाई सम्मान प्रकट गर्ने दिनका रुपमा आज नेपाल तथा विदेशमा कुशे औंशी पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसीका दिन देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने प्रचलन रहेको छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राखेमा परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । आज छोराछोरीले आआफ्ना बुबालाई मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने प्रचलन रहेको छ । बाबु नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्छ ।