नेपाली सेयर बजारमा फेरि गयो पहिरो, कारोबार साढे ७ अर्बमा सीमित

काठमाडौं । सेयर बजारमा फेरि पहिरो गएको छ । सोमबार एकैदिन कीर्तिमानी १६२ अंकले बढेको बजार आज फेरि उच्च अंकले घटेको हो ।

यस साता सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । आइतबार एकैदिन १०८ अंकले घटेको बजार सोमबार १६२ अंकले बढेको थियो भने आज फेरि ४४ अंकले घटेको छ ।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब बढीले घटेर साढे ७ अर्बमा सीमित भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ४४.१८ अंकले घटेर २९३६.६१ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२२ कम्पनीको ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँ बराबरको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड र अन्य समूहबाहेक बाँकी सबैको परिसूचक राताम्मे भएका छन् ।होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.९९ प्रतिशतले घटेको छ । निर्जीवन बीमा र माइक्रोफाइनान्स समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबारमा आएका २२२ कम्पनीमध्ये जम्मा ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १७४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झण्डै ६२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, अरुण भ्याली ३४ करोड र अपी पावर १९ करोड सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

दोहोरो अंकले घटेको बजारमा आज आरएमडीसी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.७३ प्रतिशतले घटेको छ । यसैगरी, रुरु जलविद्युत् ७.०१ प्रतिशत, प्रोग्रेसिभ फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, माउन्टेन इनर्जी, आरएसडीसी माइक्रोफाइनान्स र नयाँ सारथी लघुवित्तको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
घट्दो बजारमा पनि आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।