काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, छानो राख्न शुरु

काठमाडौं । ऐतिहासिक तथा पुरातात्विक सम्पदा बसन्तपुरस्थित काष्ठमण्डप पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । अब छानो छाउने काम सुरु गरिएको हो । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण गरि छानो राख्न थालिएको हो ।

सातौँ शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई उदृत गर्दै राससले लेखेको छ । उनका अनुसारकाष्ठमण्डप सम्पदाको पुनःनिर्माणको काम निरन्तर छ । काष्ठमण्डपको ऐतिहासिकतालाई बचाएर काष्ठमण्डपको पुनःनिर्माण हुने उनले बताएका छन् ।

काष्ठमण्डप सम्पदा पुरानै प्रविधिबाट निर्माण गर्नु विश्वका लागि नमूना भएको उनले बताए । काष्ठमण्डप सम्पदा पुनःनिर्माणका लागि हालसम्म रु ११ करोड ५० लाख खर्च भएको छ । काठैकाठको प्रयोग, झिङ्गटीका छाना, चारकुने इँटाका गरा, लेसाइलो माटोको लिपाइ, मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना काष्ठमण्डपमा पाइन्छ ।