पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य

काठमाडौं । लगानी बोर्डले आगामी पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने सहितका लक्ष्य राखेको छ । ती लक्ष्य समेटिएको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको छ ।

बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औँ वार्षिकोत्सव समारोहमा उक्त योजना सार्वजनिक गरेका छन् । उक्त योजनमा कम्तीमा एक लाख रोजगारी सिर्जना गर्न सहयोग गर्ने र प्रभावकारी लगानी प्रवर्द्धनका लागि वातावरण निर्माणमा योगदान पुर्‍याउने उल्लेख छ । रणनीतिक योजनामा लगानी बोर्डलाई सार्वजनिक निजी साझेदारीको उत्कृष्ट केन्द्रका रुपमा विकास गर्न महत्वपूर्ण पाँच मूल लक्ष्यसमेत लिइएको छ ।

परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारीसहित चारखम्बे योजनासहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच पनि योजनामा छ । बोर्डले पूर्वाधारको विकास महत्वपूर्ण रहेको निष्कर्षका साथ काम गरिरहेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पूर्वाधार विकासलाई तीव्ररुपमा अघि बढाउन लगानी बोर्डले लगानीयोग्य परियोजनाको सूची तयार गरेको जानकारी दिए । बोर्डका अनुसार सरकारले अहिले मुख्यतः सिमेन्ट र विद्युत् उत्पादन लगायतलाई बढावा दिइरहेको छ ।