मेलम्ची पुनः काठमाडौं ल्याउने समय सीमा चैतलाई तोकियो

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सक्ने गरि समय सीमा तोकेको छ । त्यसपछि काठमाडौंमा नियमित खानेपानी आपूर्ति हुने अर्थमन्त्री जनार्दन शर्माले बताए । बाढी र पहिरोका कारण मेलम्ची क्षेत्रमा ठूलो क्षति पुगेको छ । यो काम पुरा गरि काठमाडौंमा पुनः पानी ल्याउनु चूनौतिपूर्ण मानिएको छ । मेलम्चीमा आवश्यक मर्मत तथा पुनःस्थापन गरी पानी आपूर्ति गर्ने अर्थमन्त्रीले प्रतिस्थापन बजेटमार्फत घोषणा गरेका छन् । गत असारमा मेलम्चीमा आएको बाढीले अम्बाथानस्थित हेडवर्क्सलगायतमा क्षति पुर्‍याएको छ ।

यहाँ करिब ८ किमि सडक संरचना बगाउँदा आयोजना अवरुद्ध बनेको हो । मेलम्ची बजारदेखि हेडवर्क्ससम्मको करिब २१ किमिमध्येको ८ किमि सडक बगेको छ । मुहान क्षेत्रको सडक र अम्बाथानका दुईवटा बेलिब्रिज, तिम्बु र हल्देका मोटरेबल पुल बगाएको छ । मुहान नजिकैको इन्जिनियरिङ क्याम्प र सुरक्षा पोस्ट बाढीले बगाएको छ । क्याम्प बगाउँदा आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनीका एक चिनियाँ र दुई भारतीय मजदुरको ज्यान गएको छ ।