काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असोज १५ गते भित्र इन्टरनेट र टेलिफोन सेवा प्रदायकले पोल भाडा नतिरे लाइन काट्ने भएको छ ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै नियमानुसार सम्झौता नगरे त्यस्ता सेवा प्रदायकहरूको तार तथा उपकरणसमेत हटाउन लागेको जानकारी दिएको हो ।
नेपालका अधिकांश इन्टरनेट तथा टेलिफोन सेवा प्रदायकहरुले प्राधिकरणको पोललगायत संरचना प्रयोग गरी आफ्ना सेवा विस्तार गरिरहेका छन् ।
सम्झौता नै नगरी संरचना प्रयोग गर्ने, प्रयोग गरेर पनि सोबापत प्राधिकरणलाई भाडा नै नबुझाउने, जीपीएस कोर्डिनेशन नक्सा र दूरी खुल्ने कागजातसमेत नदिने गरेको प्राधिकरणले जनाएको छ । समयमै सम्झौता नगरेका सेवा प्रदायकलाई नयाँ सेवा विस्तार गर्न पनि यसअघि नै रोक लगाइसकेको छ ।
यसैबीचमा, प्राधिकरणले संरचना प्रयोग गरेबापत तिर्नुपर्ने भाडादर परिमार्जन गरेको छ । प्राधिकरणले यसअघि महानगर/उपमहानगरमा यसअघि प्रति किमी प्रतिवर्ष ४ हजार १०० रुपैयाँ रहेको पोल भाडा बढाएर १५ हजार रुपैयाँ पुर्याएको छ ।
नगरपालिकामा यसअघि प्रति किमी प्रति वर्ष २ हजार १०० रुपैयाँ रहेकोमा बढाएर ७ हजार रुपैयाँ र गाउँपालिकामा प्रति किमी प्रति वर्ष १ हजार रुपैयाँ रहेकोमा बढाएर ७ हजार रुपैयाँ नै पुर्याएको छ ।