त्रिभुवन विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित २ पक्राउ

File

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित दुई जनालाई पक्राउ गरिएको छ । सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्यागमा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहना फेला परेको हो । आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ। उनीहरूको ब्याग एक्सरे मेसिनमा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

विमानस्थलका अनुसार दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरका गरगहना छन्। थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा बुझाइएको छ । केही दिन अगाडी आन्तरिक विमानस्थलबाट प्रहरीको आँखा छली नेपालगन्ज पुर्याइएको सुन नेपालगन्ज प्रहरीले पक्राउ गरेको थियो ।