काठमाडौं । पर्यटन व्यवसायीले भारतसँगको नाका खोल्दै विदेशी पर्यटकलाई एक महिनाको भिसा फ्रि गर्न माग गरेका छन् । यो प्रावधान सरकारले बजेटमा घोषणा गरेको छ । बिहीबार पर्यटन सम्बद्ध छाता संगठनका अध्यक्षहरुको बैठक बसी संयुक्त रुपमा व्यवसायीले यस्तो माग गरेका हुन् । कोरोना महामारीको समयमा सरकारको मापदण्ड पूर्ण रुपमा पालना गरेका व्यवसायीलाई महामारी कम हुँर्दै गएसँगै सरकारको साथ र सहयोग चाहिने भन्दै उनीहरुले यस्तो माग गरेका हुन् ।
पर्यटन उद्योगीहरुका छाता संगठन नाट्टा, टान, हान, नारा, सोट्टो, एनटीभीए, टिबान, पाटा, नाटो, एनएमएसहितका संस्थाका अध्यक्ष तथा उपाध्यक्षको संयुक्त बैठकले विभिन्न पाँच बुँदे माग सरकारसँग राख्ने निर्णय गरेका हुन् । आफूहरुको माग पुरा नगरे व्यवसायीले अर्को साताबाट सडक आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । व्यवसायीले कोभिड १९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टाइन नराखी ‘अनअराइभल भिसा’मानेपाल आउन दिने व्यवस्था तत्काल मिलाउनुपर्ने माग गरेका छन् ।
यसका लागि भारतसँगको सीमानाका तत्काल खोल्नुपर्ने र नेपाल सरकारले घोषणा गरेको पर्यटकलाई एक महिनाको फ्री भिसा तुरुन्तै लागू गर्नुपर्ने माग व्यवसायीको छ । सीसीएमसीको सट्टा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई जिल्लाको कोभिड १९ परिस्थती अनुसार स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने माग व्यवसायीको छ । सरकारले पर्यटन व्यवसायीहरुका माग तत्काल सम्बोधन नगरे पत्रकार सम्मेलन गरि अर्को हप्ताबाट कडा रुपमा सडक आन्दोलनमा जाने निर्णय समेत व्यवसायीले गरेका छन् ।
पर्यटन क्षेत्र लगायत अन्य क्षेत्रहरुको माग सम्बोधनका लागि व्यवसायीहरुको छाता संस्था नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्श (एनसीसी) रनेपाल उद्योग परिसंघ (सीएनआई)सँग सहकार्य गरेर अगाडि बढ्ने निर्णय व्यवसायीको छ ।
अन्तर्राष्ट्रिय जगतमा ट्राभल एडभाइजरीमा नेपाललाई ‘रेड जोन’मा राखिएको हुँदा सो रेड जोन हटाउनका लागि नेपाल सरकारका नेपालमा पर्यटनकर्मीहरुलाई पूर्ण रुपमा कोभिड विरुद्धको खोप लगाइसकेको र कोभिड खोप लगाइसकेका पर्यटकलाई नेपालमा निर्वाध रुपमा आउन दिई क्वारेन्टाइन हटाइएको अन्तर्राष्ट्रिय मिडियामा प्रचारप्रसार गरेमात्र ट्राभल एडभाइजरी रेड जोनबाट सुरक्षित जोनका रुपमा विश्वबजारमा सुरक्षित रहने सन्देश जाने भएकाले सो को अविलम्ब व्यवस्था गर्नुपर्ने माग व्यवसायीको छ ।