बजेट पास हुन नसकेपछि रोकियो सरकारको खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को बजेट पास हुन नसकेपछि आजबाट सरकारको खर्च रोकिएको छ । संसद बैठक आगामी असोज ४ गते बस्दैछ । कम्तिमा सो दिनसम्म अब सरकारले संघीय संचित कोषबाट हुने खर्चबाहेक विनियोजन ऐन अनुसार गर्न पाउने खर्च रोकिएको छ । यसरी खर्च रोकिँदा सरकारी कर्मचारीले तलव पाउँदैनन् । प्रधानमन्त्री र मन्त्रीहरुको तलव समेत रोकिन्छ । तर, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधिक र सभाभुखको तलव र सुविधा भने रोकिन्न ।

सरकारले पेश्की खर्च विधेयक समेत नल्याएको, अध्यादेशको अवधी पुरा भएको र प्रतिस्थापन विधेयक संसदबाट पास नभएका कारण खर्च रोकिएको हो । यसलाई बजेट होलीडे भनिएको हो । सरकारले संसदबाट सजिलै बजेट पास हुने अपेक्षा गरेको थियो ।

तर, संसदमा एमालेले अवरोध गरेका कारण नेपालमा इतिहासमै पहिलो पटक खर्च बिहिनताको अवस्था आएको हो । सरकारले४ जेठसम्म एमालेसँग सहमति जुटाएमा बजेट पास हुन सक्छ । नभए यो प्रक्रिया अझै लामो हुनसक्छ । जसको असर दीर्घकालसम्म पर्ने जोखिम रहन्छ ।