गैरआवासीय नेपाली संघको निर्वाचन तोकिएकै मितिमा हुने संघको स्पष्टिकरण

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन तोकिएकै मितिमा हुने भएको छ । संघले शुक्रबार एक विज्ञप्ती निकाल्दै यस्तो जानकारी गराएको हो । निर्वाचन प्रतिनिधिमा गोलमाल भएको भन्दै असन्तुष्ट समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि हाल निर्वाचन प्रक्रिया बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ । यसका वावजुत निर्वाचन तोकिएकै समयमा हुने संघले स्पष्ट पारेको हो ।

मन्त्रालयको पत्रपछि भने अन्यौल सिर्जना भएको छ । २०२१ अक्टोबरमा हुने निर्वाचनलाई विवादरहित बनाउन अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा जुटेको विज्ञप्तिमा भनिएको छ । पौडेल नेतृत्वको एनआरएनएको निर्वाचन समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) रहेका छन् ।

यस्तै सदस्यहरूमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिवी ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका), डा. देवकाजी डंगोल (कतार), डा. गणेश गुरुङ (नेपालं रहेको समेत विज्ञप्तीमा उल्लेख छ । गत जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको जानकारी दिएको छ। निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेको समेत जनाइएको छ ।

संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्नासाथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने र अन्य आवश्यक काम अघि बढाउने विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको भन्दै एनआरएनले हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको जनाएको छ । गैरआवासीय नेपाली सङ्घको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको हो ।