एमालेमा पोलिटब्यूरो संरचना हट्यो, अब सचिवालय रहने

काठमाडौं । एमालेको नेतृत्वमा अब पोलिट ब्यूरोको संरचना हट्ने भएको छ । त्यसको स्थानमा सात सदस्यीय सचिवालय बन्ने भएको छ । एमाले र माओवादी केन्द्र एकीकरण भएसँगै बनेको नेकपामा यस्तो अभ्यास भएको थियो । एमालेले सोही अभ्यास पच्छ्याउने भएको हो । आइतबार ललितपुरको च्यासलमा भएको एमाले स्थायी कमिटीको बैठकमा संगठन विभागले अध्यक्षको नेतृत्वमा सात सदस्यीय सचिवालय निर्माणको प्रस्ताव गरेको छ । महासचिवको नेतृत्वमा कार्यलय सम्बन्धी सचिवालय रहने भएको छ ।

विधानबाट पोलिटब्युरो संरचना भने हटाइएको छ । प्रस्तावित विधानमा उपाध्यक्षको संख्या घटाइएको छ भने सचिवको संख्या बढ्ने भएको छ । उपाध्यक्षको संख्या तीनमा झारिएको छ । सचिव सात जना हुने भएका छन् । नवौं महाधिवेशनमा उपाध्यक्ष र सचिवको संख्या पाँच,पाँच थियो । उपमहासचिव भने २ जना रहने छन् । केन्द्रीय कमिटी भने २ सय २५ जनाको रहने छ । एमालेमा केन्द्रीय कमिटीको एक तिहाई संख्याको पोलिटब्युरो, पोलिटब्युरोको एक तिहाई संख्याको स्थायी कमिटी बनाउने प्रचलन रहेको छ ।