अवैध रुपमा अमेरिका छिर्न जर्मनी पुगेका ५ दर्जन नेपाली नागरिक पक्राउ

Photo : AP\ABC NEWS

काठमाडौं । ठूलो रकम खर्च गरि अवैध रुपमा अमेरिका छिर्न खोजेका ५ दर्जन नेपाली नागरिक जर्मनीबाट पक्राउ परेका छन् । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेको नेपाली संचारमाध्यमले जनाएका छन् । कान्तिपुर दैनिकको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार यही रुटबाट मेक्सिको पुगेका केही व्यक्तिलाई मेक्सिको प्रहरीले फ्र्यांकफर्ट डिपोर्ट गरेको थियो । अन्य केही भने मेक्सिको उड्ने तयारीमा थिए ।

मेक्सिकोबाट डिपोर्ट भएकाहरूलाई भने मस्को फिर्ता पठाउन लागिएको जर्मन सुरक्षा निकायले बताएको जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्कालाई उदृत गर्दै समाचारमा जनाइएको छ । विमानस्थलको ट्रान्जिटस्थित प्रहरी सुरक्षा घेरामा उनीहरुलाई राखिएको छ । एक सातादेखि उनीहरु पक्राउ परेका हुन् । आफन्तको विश्वासमा परेर उनीहरूले अमेरिका छिर्न जनही ३८ लाख रुपैयाँ तिरेको समेत जनाइएको छ ।

राजदूत खड्काका अनुसार दूतावासले जर्मनीको सुरक्षा एजेन्सीसँग सम्पर्क गर्दा १८ जना नेपाली नियन्त्रणमा रहेको बताएको छ । पक्राउ परेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा भएको आंशका गरिएको छ । फ्र्यांकफर्ट विमानस्थलमा कार्यरत श्याम खनालका अनुसार १८ जनाबाहेक मेक्सिकोबाट फर्काइएका र मस्कोदेखि मेक्सिको जान उडेका अन्य नेपाली पनि थपिएको बताएको समाचारमा उल्लेख छ ।