काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व नजिकिएसँगै उपत्यकामा विशेष सुरक्षा योजना निर्माण गरेको छ । अब विभिन्न स्थानमा सुृरक्षाकर्मीको निगरानी बढाइने छ । साथमा सादा पोशाकमा रहेका सुरक्षाकर्मीले समेत निगरानी बढाउने भएका छन् । महाशाखाले दशैं, तिहार तथा छठलगायत पर्वलाई लक्षित गरि ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सोमबार सार्वजनिक गरेको हो । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना आजदेखि लागू गरेको जनाएको छ ।
चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्युनिकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरि सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए । उनका अनुसार योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ती परिचालन, चेकजाँचमा कडाई र नागरिक सहायता कक्षा स्थापना गरि सेवा प्रवाह गर्ने योजना छ ।
बसपार्क, टिकट काउण्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणको लागी अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको चेकजाँच एव अनुगमन गर्ने, पुर्ण पालना गर्न लगाउने र सचेतना समेत जगाइने भएको छ । ट्राफिक प्रहरीले चार पटक विभिन्न ४३ ठाउँमा २४ सैं घण्टा चेकजाँच सुरु गरेको छ ।

थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखा लगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना रहेको छ । लामो दुरीका सवारी साधनमा क्षमताभन्दा बढि यात्रु राखे नराखेको, बढि भाडा लिए नलिएको, चालकले मापसे गरे नगरेको, चालकको अबस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको चेकजाँच गर्ने महाशाखाले जनाएको छ ।
महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए, नभएको ट्राफिक प्रहरीको एप्सबाट समेत चेकजाँच गर्ने उल्लेख छ । उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन हुने भएको छ । नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।
आम सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिबिधी र सुरक्षा सम्बन्धी सूसुचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगीलगायतका यात्रुहरुको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था समेत यात्रु सहायता कक्षले गर्ने महाशाखाले जनाएको छ ।