काठमाडौं । केपी शर्मा ओली सरकारले राजनीतिक नियुक्ति दिएका सबै राजदूत फिर्ता हुने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता हुने भएका हुन् ।
अहिले भारतमा निलाम्बर आचार्य, अमेरिकामा डा. युवराज खतिवडा, चीनमा महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रतिभा राणा राजदूत रहेका छन् । सरकारले परराष्ट्र मन्त्रालयका कर्मचारी राजदूत बनेका बाहेक राजनीतिक नियुक्तिबाट राजदूत बनेका सबै राजदूत फिर्ता गर्ने निर्णय लिएको हो । यससँगै अब अमेरिकाबाट डा. युवराज खतिवडा समेत फिर्ता हुने भएका छन् । उनलाई ओली सरकारले एमसीसी पास गर्ने प्रयोजनका लागि विशेष महत्वसहित अमेरिका पठाएको हो ।