काठमाडौं । हस्तकलाका सामानमा लागुऔषध चरेस राखेर विदेश ओसार्ने एक ठूलो गिरोह काठमाडौंबाट पक्राउ परेको । प्रहरीले यस कार्यमा संलग्न रहेको अभियोगमा नौ जनालाई पक्राउ गरेको हो । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले मङ्गलवार पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेस राखेर ओसारपसार गर्दै आएका म्याग्दीका श्यामप्रसाद रोका, वीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, जितबहादुर तामाङ, कृष्णबहादुर तामाङ, नुवाकोटका उर्पा तामाङ र वीरबहादुर तामाङलाई सार्वजनिक गरेको छ ।
उनीहरूको साथबाट कतार पठाउन हस्तकला सामग्रीमा प्याक गरी राखिएको सात केजी ६ सय १४ ग्राम चरेस बरामद भएको छ ।र । ब्युरो प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक हृदय थापाका अनुसार पक्राउ परेकाले हाते कागजका डायरीमा चरेस राखेर कतारलगायत मुलुकमा पठाउने गरेको खुलेको छ । उनीहरूले अचारको भाँडोमा समेत चरेस राखेर भारत हुँदै हङकङ, थाइल्यान्ड, टर्कीलगायत मुलुकमा पठाएका थिए । पक्राउ परेका मध्ये केही यसअघि जेल परेर हस्तकलाका सामान बनाउन सिकेका समेत छन् । सोही सीप जेलबाट छुटेपछि पुनः लागुऔषध ओसार पसारमा उपयोग गरेको भेटिएको छ ।