न्यूह्यामसायरमा ‘मिनी मेथा’, वाङ्ग्याल छिरिङ भए च्याम्पियन

म्यानचेस्टर

मनाङबाट प्रवर्धित खेल धनुषबाण (मेथा) प्रतियोगिता न्यूह्यामसायरमा हालै सम्पन्न भएको छ । राज्यको लाउडन टाउन स्थित एक ‘भ्याकेसन हाउस’मा कंकर्ड म्यानचेस्टर हातेमालो समाजले प्रतियोगिता आयोजना गरेको हो ।

तीन दिनसम्म चलेको प्रतियोगितामा वाङ्ग्याल छिरिङ (डिङ्गो) प्रथम, मुखिया घले (दबङ) दोस्रो र सोनाम फुन्जो (जनम) तेस्रो भएका छन् । १२ प्रतियोगिलाई पछि पार्दै विजेता बनेका खेलाडीलाई नगद पुरस्कार सहित ट्रफी वितरण गरिएको थियो ।

स्थानीय भाषामा मेथा भनिने धनुषबाण मनाङमा सदियौँ देखि प्रचलनमा रहेको जानकारहरु बताउँछन् । परापुर्व कालमा शिकार गर्न एवं घरपालुवा पशुपंक्षी रक्षाको लागि यसको उपयोग गरिन्थ्यो । त्यस बाहेक स्थानीय देवी देवतालाई धनुषबाण चढाएर खुसी बनाइने गरेको बुढापाकाहरु सुनाउँछन् । विस्तारै यसले जीवन यापनको साधनबाट खेलको रुप लिएको हो ।

मनाङबाट अमेरिका आएर बसोबास गर्ने जुझारुहरुको पहलमा यो खेल यहाँ पनि सुरु भएको हो । न्यूयोर्क स्थित मनाङ समाजले बर्षेनी भव्य कार्यक्रमका साथ मेथा प्रतियोगिता आयोजना गर्दै आएको छ । सोही कारण न्यूह्यामसायरमा आयोजित प्रतियोगितालाई मिनी मेथा भनिएको मनाङ स्थायी घर भइ हाल न्यूह्यामसायरमा व्यवसाय गर्दै आएका कर्मा गोम्पोले जानकारी दिए ।

न्यूह्यामसायरमा अघिल्लो बर्षको तुलनामा यसपाली सहभागितामा बृद्धि भएको एवं मनाङबाहेक अन्य क्षेत्रबाट अमेरिका आएर बसेका साथीभाइहरुले पनि चासो राख्न थालेको उनको भनाइ छ । ‘मेथाले विस्तारै अन्य समुदायमा पनि परिचय स्थापित गर्न थालेको छ, उनले भने- यसपाली मेथा हेर्न न्यूह्यामसायरमा बसोबास गर्ने सबैजसो नेपाली समुदायको उपस्थिती रह्यो, यसले हामीलाई थप उत्साह दिएको छ ।’ प्रतियोगितामा भाग लिन न्यूयोर्क लगायत स्थानबाट खेलाडीहरु न्यूह्यामसायर आएका थिए ।