नेपालमा ४० वर्ष भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने

काठमाडौं । नेपालमा ४० वर्ष उमेर भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने भएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीले सरकारको उक्त तयारी बारे जानकारी गराएका हुन् । नेपाली नागरिकको मिर्गौलाको अवस्था जाँच गर्न र स्वास्थ्य पत्ता लगाउन पिसाव जाँच गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

सरकारले मिर्गौलाका सम्बन्धमा नागरिकहरुमा के कस्तो समस्या छ भन्ने जानकारी लिने गरी योजना बनाएको जानकारी समितिलाई गराएको छ । आजको बैठकपछि समितिले मिर्गौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो बनाउन सरकारलाई निर्देशन समेत दिएको छ । डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न, मिर्गौला फेल हुनुको कारण र मिर्गौलासम्बन्धी रोगबाट बच्ने उपायका बारेमा देशभरि नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न समेत समितिले निर्देशन दिएको छ ।