काठमाडौं । लिथुआनियाको रक्षा मन्त्रालयले उपभोक्तालाई चिनियाँ फोन प्रयोगमा नल्याउन सिफारिस गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सो मुलुकको इन्टरनेट सुरक्षा सम्बन्धी निकाय न्याशनल साइबर सेक्युरिटि सेन्टरले चिनियाँ उत्पादकका फाइभजी मोबाइल फोनलाई परीक्षण गरेको थियो। सो क्रममा एक शिआओमी फोनमा पहिले नै सेन्सर गर्ने उपकरण जडान रहेको भेटिएको दावि गरिएको छ । साथै हुआवेई मोडेलको फोनमा सजिलै साइबर आक्रमण हुन सक्ने गरि कमजोर सुरक्षा प्रणाली राखिएको समेत बताइएको छ ।
हुआवेईले प्रयोगकर्ताहरूको तथ्याङ्क र जानकारी फोनबाट बाहिर पठाउने भने नगरेको जानकारी गराएको छ । लिथुआनियाका रक्षा उपमन्त्री मार्गिरिस अबुकेभिसिअसले नयाँ चिनियाँ फोन नकिन्न र आफूसँग भएको फोन पनि सकेसम्म छिटो त्याग गरिहाल्न सुझाव दिएको समाचारमा उल्लेख छ ।
अध्ययनको प्रतिवेदनका अनुसार शिआओमीको सर्वाधिक चर्चित मी टेनटि फाइभजी फोनमा यस्तो सफ्टवेअरहरू रहेको पाइयो जस्ले तिब्बती स्वतन्त्रता सम्बन्धी नारा फ्रि टिबेटू, ताइवानको स्वतन्त्रता सम्बन्धी लङ लिभ ताइवान इन्डिपेन्डेन्स वा प्रजातान्त्रिक आन्दोलन जनाउने डिमोक्रेसी मुभमेन्ट जस्ता शब्दहरूलाई पत्ता लगाउने र सेन्सर गर्ने क्षमता राख्ने बीबीसीले लेखेको छ । उक्त फोनमा रहेका प्रणालीगत एप र ब्राउजरले ४४९ भन्दाबढी शब्दावलीहरू सेन्सर गर्न सक्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त प्रतिवेदनको विवरणबारे टिप्पणीका लागि गरिएको बीबीसीको प्रयासमा शिआओमीले प्रतिक्रिया जनाइसकेको छैन।
शिआओमीका फोनहरूले फोन प्रयोग सम्बन्धी डेटा सिंगापुरस्थित सर्भरमा पठाउने गरेको पनि अध्ययनका क्रममा पत्ता लागेको जनाइएको छ। हुआवेइको पीफोर्टी फाइभजी फोनमा रहेको खराबीको बारेमा पनि उक्त अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त कमजोरीका कारण प्रयोगकर्ताको फोनमा साइबर हमला हुनसक्ने जोखिम रहन्छ। यो पछिल्लो विवरण लिथुआनिया र चीनबीच तनाव बढिरहेको समयमा आएको बताइएको छ ।