पर्यटकलाई सर्त तोकेर अनअराइभल भिसा खुल्यो, गैरआवासीय नेपालीलाई के छ प्रावधान ?

काठमाडौं । सरकारले डेढ वर्षपछि पर्यटकका लागि सर्तसहित अनअराइभल भिसा खोलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । मन्त्रालयका अनुसार अब नेपालको कानून अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले खोपको मात्रा पूरा गरेको अवस्थामा अनअराइभल भिसा पाउने छन् ।

पर्यटकले भिसाका लागि आवश्यक कागजातसहित कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन कटेको प्रमाण पेस गर्नुपर्ने भएको छ । साथमा हवाई उडानको चेकइन हुनुभन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमति समेत देखाउनु पर्नेछ ।

पर्यटकले नेपालमा होटेल बुक गरेको प्रमाण समेत साथमा बोक्नु पर्नेछ । अनअराइभल भिसा नलिई सम्बन्धित मुलुकको नेपाली नियोगबाट भिसा लिएर नेपाल आउन चाहने पर्यटकको हकमा समेत कोभिड–१९ विरुद्धको खोपको मात्रा भने पूरा गरेको हुनुपर्ने सर्त राखिएको छ । यसबाहेकका अन्य सर्त यथावत हुने गरी तोकिएको छ । खोपको मात्रा पूरा नगरेका विदेशी नागरिकले भने सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाटै भिसा लिनु पर्नेछ । साथमा उनीहरुलाई एजेन्सीमार्फत मात्र भ्रमणको अनुमति दिइने छ ।

अर्थात खोप नलगाएका पर्यटक एकल रुपमा आउन सक्ने छैनन् । पूर्ण खोप प्राप्त नगरी नेपाल आएका पर्यटकले भने १० दिन अनिवार्य होटेल क्वारेन्टिन समेत बस्नु पर्नेछ । ११ औं दिनमा कोभिड परीक्षण गरी उनीहरु गन्तव्यमा जान सक्ने नियममा उल्लेख छ । अब सबै विदेशी नागरिकको अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण हुने भएको छ । यसको पूर्वाधार स्वास्थ्ग्य मन्त्रालयले मिलाउने छ ।

परीक्षणको शुल्क विदेशी यात्रु स्वयंले तिर्नुपर्ने छ । नयाँ आदेश अनुसार कोभिड–१९ खोपको मात्रा पूरा गरेको १४ दिन पार गरेका नेपाली र गैरआवासीय नेपालीले गन्तव्यमा जान पाउने छन् । उनीहरुले ७२ घण्टा भित्रको पीसीआर परीक्षण नेगेटिभ आएको रिपोर्ट भने साथमै बोक्नु पर्नेछ ।

नयाँ आदेश अनुसार कोभिड–१९ खोपको मात्रा पूरा गरेको १४ दिन पार गरेका नेपाली र गैरआवासीय नेपालीले गन्तव्यमा जान पाउने छन् । उनीहरुले ७२ घण्टा भित्रको पीसीआर परीक्षण नेगेटिभ आएको रिपोर्ट भने साथमै बोक्नु पर्नेछ ।

यो विदेशमा बसोबास गरिरहेका नेपाली, भ्रमणमा गएका नेपाली र गैरआवासीय नेपाली सबैको हकमा लागु हुनेछ । अध्यागमन विन्दुमा कोरोनाको लक्षण देखिएमा भने उनीहरु सबैले एन्टिजेट परीक्षण गर्नुपर्छ । खोप लगाएको १४ दिन नपुगेका नेपालीले भने पीसीआर परीक्षण रिपोर्टका साथमा अध्यागमन विन्दुमा अनिवार्य एन्टिजेन परीक्षण गराउनु पर्नेछ । उक्त परीक्षणमा एन्टिजेन आएमा भने गन्तव्यमा जान दिइने भएको छ ।

तर, विशेष परिस्थतिका कारण नेपाल आउनु परेका नेपाली वा गैरआवासीय नेपाली र उनीहरुका परिवारलाई भने अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गरी घर जान दिइने छ । विशेष परिस्थतिमा अन्तिम संस्कारमा सहभागी हुनुपर्ने, दीर्घरोगी वा उनीहरुको कुरुवा, ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र ५ वर्ष भन्दा मुनीका नाबालक र उनीहरुको अभिभावकलाई मानिएको छ ।

वैदेशिक रोजगारीमा गएका तर, सम्बन्धित मुलुकले फिर्ता गरेका, विदेशबाट डिर्पोट भएका वा बेखर्ची अवस्थामा स्वदेश फर्किएका नेपालीले भने कोभिड १९ खोप पुरा गरेको अवस्थामा र ७२ घण्टा भित्रको पीसीआर परीक्षणका आधारमा घर जान पाउने छन् । खोप नलगाएको हकमा उनीहरुको एन्टिजेन परीक्षण हुने भएको छ । पोजेटिभ आएमा आइसोलेसनमा पठाइने छ । नेगेटिभ आएमा घर जान दिइनेछ ।