अमेरिकामा रहेका हाइटीका आप्रवासीलाई घर फर्काउने विषयमा विवाद चर्कियो

Getty Images\AFP\BBC

टेक्सास । अमेरिकामा रहेका हाइटीमा आप्रवासीलाई स्वदेश फिर्ता गर्ने विषयमा विवाद चर्किएको छ । अमेरिकाबाट आप्रवासी फिर्ता गराइएको विरोधमा प्रदर्शन नै चर्किएसँगै हाइटीका लागि अमेरिकी विशेष दूतले राजिनामा दिएका छन्। बीबीसीका अनुसार वरिष्‍ठ कूटनीतिज्ञ डानिअल फुटेले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका आप्रवासीलाई पुनः हेइटी फर्काउने निर्णयलाई अमानवीय भन्दै विरोध गरेका थिए ।

गत सप्ताह अमेरिकाले सीमावर्ती टेक्सस सहरबाट आप्रवासीहरूलाई घर फर्काउने उडानहरू सुरु गरेको थियो। आइतवारयता अमेरिकाले मेक्सिकोसँगको सीमानामा रहेको टेक्ससका शिविरहरूबाट १४ सयभन्दा धेरैलाई हाइटी फर्काइसकेको छ । जहाँ एउटा अन्डरपासमुनी ३७ डिग्री सेल्सिअसको धूपमा झण्डै १३ हजार आप्रवासी जम्मा भएर बसेको समाचारमा उल्लेख छ ।

स्थानिय अधिकारीहरू उनीहरूलाई खानेकुरा र पर्याप्त सरसफाई सुनिश्चित गर्न सङ्घर्षरत थिए। एएफफी समाचार संस्थाका एकजना फोटोपत्रकारले यसैसाताको सुरुमा खिचेका तस्बिरहरूले अमेरिकी दासता र अस्वेत वर्णका मानिसहरूका लागि देशको ऐतिहासिक नराम्रो व्यवहारको निर्दयी झल्को देखाएको थियो।


आफ्नो राजिनामापत्रमा विशेष दूत फुटेले हेइटी असफल राष्ट्रु भएको र उसले जबरजस्ती फर्काइएका आप्रवासीलाई खानेकुरा, आवास र पैसाजस्ता सहायता उपलब्ध गराउन नसक्ने बताएका छन् । ह्वाइटहाउसकी प्रवक्ता जेन साकीले भने विशेष दूत फुटेसामु ती सरोकारहरू उठाउने पर्याप्त अवसरहरू रहेको तर पदमा हुँदा उनले एकपटक पनि त्यसो नगरेको बताएकी छिन् । हाइटीमा गत जुलाई महिनामा राष्ट्रपति जोभनेल मोइजको हत्या भएको थियो ।

त्यसपछि यो मुलुकमा अस्थिरता छाएको छ । संचारमाध्यममा घोडामा बसेर अमेरिकी सेनाले आप्रवासीहरूलाई लखेटेका तस्विर सार्वजनिक भएपछि अमेरिकाको आलोचना भएको थियो । यो घटनापछि सीमामा सुरक्षाकर्मीलाई घाडा सवार बन्द गरिएको छ । पछिल्लो घटनाक्रमले बाइडन प्रशासनमाथि उनको डेमोक्र्याटिक पार्टी भित्रबाटै हेइटीका आप्रवासीलाई घर नफर्काई शरण दिन अनुरोध आइरहेका छन् ।