काठमाडौं । नेपालमा आजबाट चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स ११ भिड्ने छन् । खेल नेपाली समय अनुसार सवा १२ बजे शुरु हुनेछ। ललितपुरको कप्तानी कुशल भुर्तेल र काठमाडौंको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् । प्रतियोगितामा चर्चित विदेशी खेलाडीहरुको समेत जमघट रहेको छ । इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा ६ फ्रेन्चाइज टीमले एकल राउन्ड रोविन नियमअनुसार प्रतिस्पर्धा गर्दैछन् । यस आधारमा लिगका शीर्ष चार टोली क्वालिफायर चरणमा छनोट हुनेछन् । पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ । यो खेलबाट पराजित भएको टोली र चौथो स्थानमा रहेको बीच खेलबाट विजेताले फाइनलमा स्थान बनाउनेछ । विजेताले ५० लाख र उपविजेताले १५ लाख नगद पाउने छ । यसपटकको इपिएलमा २४ जना विदेशी खेलाडी खेल्दैछन्।