काठमाडौंं । चीनले क्रिप्टोकरेन्सीसँग सम्बन्धित सबै कारोबारलाई अवैध भनेको छ । चीनको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबारलाई अवैध घोषणा गरेसँगै अन्तरांष्र्टिय बजारमा समेत यसको असर परेको छ । चीनले बिटकोइनजस्ता डिजिटल मुद्रामाथि समेत प्रभावकारी प्रतिबन्ध लगाएको बीबीसीले लेखेको छ। भर्चुअल मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि हुने पिपुल्स बैंक अफ चाइनको निष्कर्ष छ । उसले त्यस्ता गतिविधि मानिसको सम्पत्तिका लागि खतरनाक भएको चेतावनी समेत दिएको छ। चीन क्रिप्टोकरेन्सीका लागि विश्वका ठूलामध्ये एउटा बजार हो। त्यहाँ हुने घटबढले क्रिप्टोकरेन्सीको विश्वव्यापी मूल्यमा असर पर्ने गरेको थियो।
चीनको पछिल्लो घोषणासँगै बिटकोइनको मूल्यमा दुई हजार डलरभन्दा बढीले गिरावट आएको समाचारमा उल्लेख छ । आधिकारिक रूपमा चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार सन् २०१९ देखि प्रतिबन्धित भए पनि अनलाइनमार्फत् विदेशी विनिमय जारी रहँदै आएको छ। शुक्रवार केन्द्रीय बैंकले गरेको घोषणाबाट चीनले क्रिप्टोकरेन्सीसम्बन्धी सबै स्वरूपका कारोबार बन्द गर्न चाहेको देखिएको छ । अवैध आर्थिक गतिविधिमा संलग्नहरूूले अपराध गरिरहेको र उनीहरूमाथि कारबाही गरिने केन्द्रीय बैंकको घोषणा छ ।