काठमाडौं । शनिबारबाट शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किंग्स ११ ले विजयी शुरुवात गरेको छ । यो टीममा पाकिस्तानी स्टार क्रिकेटर साहिद अफ्रिदी समेत छन् । टीमलाई सन्दीप लामिछानेले नेतृत्व गरिरहेका छन् । काठमाडौंले साविक विजेता ललितपुरलाई ७ विकेटले हराएको हो । काठमाडौंका लागि बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर रायल बर्लले आज उत्कृष्ट प्रदर्शन गरे । टस हारेर पहिले ब्याटिंग गरेको ललितपुरले १५८ रनको लक्ष्य काठमाडौंलाई दिएको थियो । काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो ।
काठमाडौंका लागि जिम्बाब्बेका बर्लले अविजित ७३ रन जोडे । अफगानिस्तानका गुर्बाजले ५९ रन प्रहार गरे । राजु रिजाल १९ रनमा अविजित रहे । ललितपुरका पवन सर्राफले १ विकेट लिए । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पवन सर्राफको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको हो । सर्राफले ६१ रन बनाए । पाकिस्तानी स्टार शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए तर, विकेट लिन सकेनन् । उनले आज ब्याटमा भने मौका पाएनन् ।