अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमै दियो चार जनालाई मृत्युदण्ड ?

File Photo : REUTERS\Aljazeera

काबुल । अफगानिस्तानको हेरात सहरमा तालिबानले चार जनालाई सार्वजनिक स्थलमै मृत्युदण्डको सजाय दिएको आशंका गरिएको छ । बीबीसीका अनुसार उनीहरुमाथि व्यक्ति अपहरणको मुद्दा लागेको थियो । तालिवानले शवलाई सार्वजनिक स्थानमा झुन्ड्याइदिएको समाचारमा उल्लेख छ । तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्टै यस्तो घटना सार्वजनिक भएको हो। एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती चार जनाको एउटा भिडन्तमा मृत्यु भएको र शवलाई झुण्डाइएको स्थानीय अधिकारीले दावि गरेका छन् ।

समाचारसंस्था एपीले लेखे अनुसारहेरातको केन्द्रमा एउटा क्रेनमा शव झुन्ड्याइएको थियो । उक्त स्थानमा चारवटा शव ल्याइएको र त्यहाँ एउटा झुन्ड्याइएको थियो भने बाँकी तीन वटालाई सहरका अन्य स्थानमा देखाउन लगिएको पाइएको समेत समाचारमा उल्लेख छ । यद्दपी हेरातका सहायक गभर्नर मौलवी शैर अहमद एमरले भने तालिबान लडाकुसँगको भिडन्तमा उनीहरुको ज्यान गएको बताएका छन् । अरू अपहरणकारीलाई चेतावनी दिन तिनका शवलाई हेरातका चोकहरूमा झुन्ड्याएको उनको भनाई छ । ती मानिसको मृत्यु भएको परिस्थितिबारे स्वतन्त्रतापूर्वक पुष्टि भने नभएको बीबीसीले लेखेको छ ।