पोखरा । नेपालको पर्यटकीय नगरि पोखरामा यस वर्षको विश्व पर्यटन दिवस पृथक तरिकाबाट मनाइने भएको छ । गण्डकी प्रदेश सरकारले एक दर्जन मुलुकका राजदूतलाई आइतबार पोखरामा स्वागत गरेको छ । सोमबार परेको विश्व पर्यटन दिवसका अवसरमा राजदूतहरुले पदयात्रा गर्ने भएका छन् । पदयात्रा र पोखरा नेपाली पर्यटनका विश्वव्यापी पहिचान हुन् । नेपालमा पर्यटक आगमन खुला भएको छ । यो सन्देश संसारभर पुर्याउन यो अभियान सफल हुने प्रदेश सरकारको विश्वास छ ।
राजदूत, उनका परिवार र विदेशी निकायका प्रमुखलाई पोखरा र आसपासका पदमार्ग घुमाउने योजनासहित यो कार्यक्रम बनेको हो । यस अभियानमा पर्यटन बोर्डले समेत समन्वयको काम गरेको छ । पदयात्रामा जान आइतबार ११ वटा देश र निकायका राजदूत पोखरा पुगिसकेका छन् ।
युरोपियन युनियन, युनाइटेड अरब इमिरेट्स, कतार, जर्मनी, थाइल्याण्ड, फिनल्याण्ड, श्रीलंका, साउदी अरब, कोरिया, इजिप्ट, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव, संयुक्त राष्ट्र संघका आवासीय प्रमुख, इसिमोडका महानिर्देशक, युएन एडका नेपाल निर्देशक, युएनडिपी, युनेस्को, विश्व खाद्य कार्यक्रम लगायतका नियोगका प्रमुख समेत पदयात्राका लागि पोखरा पुगेका छन् ।
पोखरा विमानस्थलमा उनीहरुलाई गण्डकी सरकारका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारी र पोखराका पर्यटन व्यवसायीले भब्य स्वागत गरे । पदयात्रामा जान आएका राजदूत तथा कुटनीतिज्ञलाई गण्डकी सरकारले बुद्ध एयरको जहाज चार्टर गरेर पोखरा लगेको हो । सोमबार ४२ औं विश्व पर्यटन दिवसको अवसर पारेर उनीहरुलाई कास्कीको नौडाडादेखि पोखरासम्म पदयात्रा गराउने कार्यक्रम छ। नौडाडामा स्थानीयको स्वागतसहित चिया खाएर शुरू हुने पदयात्रा कास्कीकोटहुँदै सराङकोट आएर सकिने योजना छ।