रोकिएन् नेपाली सेयर बजारको पहिरो, यी हुन् धेरै गुमाउने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । आइतबार एकैदिन ६२ अंकले घटेको बजार आज त्याुभन्दा धेरै अंकले घटेको हो । यससँगै नेप्से २७०० विन्दु तल झरेको छ ।

लगातार घटेसँगै नेप्से ६ महिना अघिकै विन्दुमा पुगेको छ । गत वैशाख ३० गते सेयर बजार २६८५ विन्दुमा रहेको थियो।

सोमबार सेयर बजार मापक सूचक नेप्से ७३.०५ अंकले घटेर २६८५.४२ विन्दुमा आइपुगेको छ । यसदिन २२७ कम्पनीको ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँ बराबरको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.५३ प्रतिशतले घटेको छ । यस्तै, लगानी र निर्जीवन बीमा समूह ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे १५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, युनाइटेड मोदी हाइड्रोपाव १३ करोड र हिमालयन डिस्टीलरी झन्डै १३ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

उच्च अंकले घटेको बजारमा आज गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ७.८३ प्रतिशत गुमाएका छन् । यस्तै, युनाएटेड इदीमार्दी, नेपाल फाइन्स, कालिका पावर, पोखरा फाइनान्स र नेपाल हाइड्रोको सेयर मूल्य डेभलपरको सेयर मूल्य ७ प्रतिशभन्दा धेरैले घटेको छ । यस्तै, समृद्धि, सेन्टर, जानकी, मल्टिप्रपोज फाइनान्ससहित १ दर्जन कम्पनीको मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युत् कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।