अमेरिकामा नेपाली समुदायलाई विभाजन गर्न खोजेको भन्दै महावाणिज्य दूतावास न्यूयोर्कप्रति आपत्ति

न्यूयोर्क । अमेरिकामा रहेका नेपालीहरुलाई विभाजन गर्न खोजेको भन्दै नेपाली महावाणिज्य दूतावास न्यूयोर्कप्रति सरोकारवालाले आपत्ति जनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष लोक चेम्जोङ, प्रवाशी नेपाली मञ्च अमेरिकाका अध्यक्ष अर्जुन सिंह, नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जन र प्रवाली नेपाली समाज अमेरिकाका अध्यक्ष रुद्र राउतले संयुक्त विज्ञप्ती निकाल्दै यस्तो बताएका हुन् । महावाणिज्य दूतावासले समग्र नेपालीको प्रतिनिधित्व गर्नुपर्नेमा अहिले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका परराष्ट्र मन्त्री डा. नारायण खड्कासँगको भेटघाट राजनीतिक दलको भातृसंगठनसँग मिलेर आयोजना गरेको भन्दै यी संगठनले आपत्ति जनाएका हुन् ।

उनीहरुले महावाणिज्य दूतावास सरकारी निकाय भएकाले कुनै पनि दलको पक्षमा लाग्न नहुने तर्क छ । यस्तो कार्यक्रमले मन्त्रीको सम्मान भन्दा बढी अपमान हुने समेत विज्ञप्तीमा उल्लेख छ । विगतमा नेपालबाट उच्चस्तरीय पाहुना आउँदा सरोकारवाला सबैको सहभागितामा कार्यक्रम आयोजना हुने गरेको स्मरण समेत ती संगठनका प्रमुखले गराएका छन् । उनीहरुले कार्यबाहक महावाणिज्य दूत विष्णु प्रसाद गौतमको विभेदकारी र विरोधकारी नीतिको कडा आलोचना समेत गरेका छन् । उनीहरुले यस्तो व्यवहार सच्याउन चेतावनी समेत दिएका छन् । नेपाली समुदायलाई फुटाउने प्रयास गरे त्यसको परिणाम नराम्रो हुने उनीहरुको भनाई छ ।