मन्त्रिहरुको नाम टुंग्याउँदै दलहरु, एक\दुई दिनमै सरकार बिस्तार

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको नेतृत्व लिएको दुई महिना नाघिसक्दा पनि मात्र ६ सदस्यीय मन्त्रीमण्डलले देश चलिरहेको छ । यसबाट मन्त्रालयगत रुपमा हुनुपर्ने कतिपय निर्णय अनिर्णयको बन्दी बनेका छन् । यता सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि भने मन्त्रिमण्डल विस्तार हुने भएको छ । आज र भोलीमा यो विषय टुंगो लगाउने तयारीमा दलहरु छन् ।

माओवादी केन्द्रमा त्यति विवाद नभएपनि मन्त्री बन्ने सन्दर्भमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)मा विवाद छ । यी दलले समेत आजै मन्त्रीको नाम टुंग्याउने बताएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गते ल्याइएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेलगत्तै राष्ट्रपतिबाट अध्यादेश खारेज भइसकेको छ ।

प्रधानमन्त्रीसहित २५ जनाभन्दा बढीको मन्त्रिमण्डल बनाउन पाइदैन । दलहरुबीच नेपाली कांग्रेसलाई प्रधानमन्त्रीसहित ७ मन्त्रालय, माओवादी केन्द्रलाई ६ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादी पार्टीलाई ५ मन्त्री र एक राज्यमन्त्री तथा जसपालाई ४ मन्त्री र १ राज्यमन्त्री दिने विषयमा सहमति भएको जनाइएको छ ।