न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई

म्यानचेस्टर

न्यूह्यामसायर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता (सिंगल्स)को उपाधि किरण हुमागाईँले जितेका छन् । आइतबार राज्यको म्यानचेस्टर स्थित वाटरफोर्ड टेनिस कोर्टमा सम्पन्न फाइनलमा ओम बस्नेतलाई ६२ र ६ को सोझो सेटमा पराजित गर्दै हुमागाईँले उपाधि हात पारेका हुन् ।

यस्तै डबल्स तर्फको उपाधि गोविन्द गुरुङ र दिनेश गुरुङले जितेका छन् । मनिष हुमागाईँ र ओम बस्नेतको जोडीलाई ६ र ६४ को सेटमा हराउँदै उनीहरु विजयी भएका हुन् । विजेता खेलाडीहरुलाई फाइनल खेलपछि आयोजित समारोहमा समाजकी अध्यक्ष शान्ता विष्टले ट्रफी हस्तान्तरण गरिन् ।

कार्यक्रममा न्यूह्यामसायरको नेपाली समुदायमा टेनिस प्रवर्धनका लागि निरन्तर योगदान गर्ने रोविन थापा, किरण हुमागाईँ एवं वीर शाहलाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । भुटानका पूर्व राष्ट्रिय टेनिस च्याम्पियन हुमागाईँ पछिल्लो दुई दशक देखि न्यूह्यामसायरमा बसेर नयाँ पुस्तालाई टेनिस सिकाउन सकृय छन् । उनकै प्रेरणामा टेनिस खेल्न थालेको तन्नेरी नेपाली पुस्ताले आज राज्य स्तरमा आयोजना हुने अन्य प्रतियोजितामा समेत प्रभाव छोड्न थालेको छ । न्यूह्यामसायरमा व्यवसाय गर्दै आएका थापा नेपाली समुदायमा सबैजसो खेलकुद प्रवर्धनका लागि अघि सर्दै आएका छन् । यस्तै शाह पनि खेलकुदप्रति झुकाव राख्ने पुस्तालाई सहयोग गर्न हमेसा तप्पर रहन्छन् ।

कार्यक्रममा प्रतियोगिता संयोजक एवं न्यूह्यामसायर नेपाली समाजका महासचिव माधव गुरुङले टेनिस प्रति बढ्दो लोकप्रियतालाई मलजल गर्न युवा पुस्ता तयार भइ सकेको बताए । समाजकी अध्यक्ष विष्टले खेलको माध्यमबाट भइ रहेको भाइचारा अभिवृद्धि आफूहरुको मुख्य पूँजी रहेको बताइन् । साथै पछिल्लो समय राज्यमा बसोबास गर्ने नेपाली महिलाहरुमा समेत टेनिस सिक्ने जाँगर बढेको भन्दै यो खेल समाजको सबै तप्कालाई जोड्ने सेतुको रुपमा विकास भइ रहेको उनको भनाइ थियो । समाजले बर्षेनी टेनिस प्रतियोगिता आयोजना गर्दै आएको छ । एक सातासम्म चलेको यस पटकको प्रतियोगितामा सिंगल्स तर्फ १७ जना र डबल्स तर्फ सात जोडी प्रतियोगी सहभागी थिए ।