नेपाली सेयर बजार ७ महिना अघिकै विन्दुमा, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । यससाता आइतबारदेखि उच्च अंकले घट्न थालेको बजार ३ दिनमै २०५ बढी अंकले घटेको हो ।

आइतबार एकैदिन ६२ अंकले घटेको बजार सोमबार ७३ अंकले घटेको थियो भने ७० अंकले घटेको छ । लगातार घटेसँगै नेप्से ७ महिना अघिकै विन्दु अर्थात् २६०० हाराहारीम आइपुगेको छ ।गत चैत १७ गते नेप्से २६१९ विन्दुमा थियो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरे यता घट्न थालेको बजार अझै रोकिएको छैन । राष्ट्र बैंकले एउटा बैंकबाट ४ करोड र अन्यबाट गरी कुल १२ करोड बढी कर्जा लिन नपाइने व्यवस्था गरेपछि ठूला लगानीकर्ता प्रभावित हुँदा समग्र बजारनै ओरालो लागेको हो ।

साथै, पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव भई बैंकको ब्याजदर बबढ्नाले पनि सेयर बजारमा प्रभाव परेको देखिन्छ ।

मंगलबार सेयर बजार मापक सूचक नेप्से ७०.०१ अंकले घटेर २६१५.४० विन्दुमा आइपुगेको छ । यसदिन २१८ कम्पनीको ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँ बराबरको १ करोड ३० लाख ३४ हजार ८२९ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ७.३७ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर ४.७४, विकास बैंक र लगानी समूह पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्टीलरी १७ करोड र नेशनल हाइड्रो १५ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

उच्च अंकले घटेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । हिमालयन पावर र नेशनल हाइड्रो डेभलपर कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

यसैगरी, गोर्खा फाइनान्स, जोशी हाइड्रोपावर र श्री इन्भेष्टमेन्टका सेयरधनीले पनि करिब १० प्रतिशत गुमाएका छन् । यस्तै, शिवश्री हाइड्रो र समृद्धि फाइनान्सको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ । ग्रीन डेभलपमेन्ट बैंक, वरुण हाइड्रोपावर, कुमारी बैंक, आइसीएफसी फाइनान्ससहित १ दर्जन कम्पनीको मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युत् कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।