काठमाडौं । सोमबार करीव २ घण्टा आकासमा फन्को मारेर अवतरण भएको बुद्ध एयरको एटीआर जहाजले मंगलबार भने बिहानैबाट व्यवसायिक उडान गरेको छ । जहाजमा कुनै पनि प्राविधिक समस्या नदेखिएपछि यो जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरका प्राविधिले उड्ने अनुमति दिएका हुन् । बुद्ध एयरका अनुसार सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए ।
चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले उडान अनुमति दिएको हो । सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो । आकाशमा करीब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो ।