काठमाडौं । वैदेशिक रोजगारीमा गएर घर फर्कने नेपालीलाई सुन तस्करले भरियाका रुपमा प्रयोग गर्दा निर्दोष नेपाली फस्ने क्रम बढ्दै गएको छ । प्रहरीले गत आइतबार मात्र यसरी भरियाका रुपमा सुन बोकेर आएका १७ जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सो दिन कुल नौ सय ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट १ सय ४९ दशमलव ५ ग्राम सुनसहित सुरूमा दुई जनालाई पक्राउ गरेको थियो । भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ७ का ३३ वर्षीय समुन्द्र दंगाल र बुढानिलकण्ठ नगरपालिका १२ बस्ने ४३ वर्षीय सन्तविर राई पक्राउ परेका थिए । आइतबार पक्राउ परेका उनीहरुले सिंगापुर एयरलाइन्समार्फत् मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाएको प्रहरीले जनाएको छ ।
यात्रुहरूलाई उक्त परिमाणको धातु लुकाइछिपाइ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो। विमानस्थलबाट सोही दिन ७ सय ५० ग्राम सुन बरामद भएको थियो । कुल १४ वटा बाला र एउटा सिक्रीका रुपमा प्रहरीले उक्त सुन बरामद गरेको थियो। सिंगापुर र मलेसियाबाट काठमाडौं आएका १५ यात्रुहरूलाई भन्सार छली गर्न लगाएर सो सुन तस्करी भएको पाइएको छ ।
ती यात्रुहरूले ल्याएको सुन विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। यात्रुहरूले ल्याएको सुन उनीहरूकै भने होइन। अर्कै व्यक्तिले लगिदिनू भन्दै पठाएका हुन् । उनीहरूलाई मलेसियाको विमानस्थलबाट नामथर नखुलेका व्यक्तिले दिएर पठाएको प्रहरीले बताएको छ।
काठमाडौं पुगेपछि सामान विमानस्थल वरिपरिका होटलमा रिसिभ गर्न आउने भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । विदेशबाट फर्कने सोझा नेपालीलाई तस्करले भरियाका रुपमा प्रयोग गर्दा निर्दोष नागरिक फसिने क्रम बढेको छ ।