काठमाडौं । आन्तरिक उडानका जहाजहरुमा समस्या दोहोरिन थालेसँगै सरकारले अध्ययन समिति बनाएको छ । सरकारले नेपालमा सञ्चालनमा रहेका जहाजको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति गठन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने संयोजकत्वको समितिले नेपालमा सञ्चालन हुने वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी गराएका छन् ।
समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल सदस्य र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्य सचिव तोकिएका छन् । यो समितिले आइकाओबाट स्वीकृत मापदण्ड वायुसेवा कम्पनीले पालना गरेको, नगरेको बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनको समेत पुनरावलोकन गर्ने भएको छ वायुयान चालक दलका सदस्यसम्बन्धी मापदण्ड पालना भएको वा नभएको बारेमा पनि समितिले परीक्षण गर्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पालना गर्नुपर्ने सुरक्षासम्बन्धी कामको अध्ययन गरी हवाइ सुरक्षाको गुणस्तर बढाउन समितिले सुझाव पनि दिने मन्त्रालयको भनाइ छ । यो कामका लागि समितिलाई तीन महिनाको समय दिइएको छ । सरकारले यस्तो परीक्षणपछि मापदण्ड पालना नभएको पाइए जहाज ग्राउण्डेड गर्नेछ । मापदण्ड पूरा गरेपछि मात्र चलाउन पाइने गरी जहाजहरु ग्राउण्डेड गरिने मन्त्रालयको भनाइ छ ।
नेपालमा सञ्चालित वायुसेवा कम्पनीका हवाइजहाज र हेलिकप्टरमा समस्या देखिएका बेला सरकारले वायुयानहरुको अध्ययन गर्न समिति बनाएको हो । सोमबार मात्र बुद्ध एयरको जहाज अवतरण गर्न नसक्दा यात्रुले डर र सास्ती भोग्नु परेको थियो ।